फोहरमैला व्यवस्थापनमा श्रमिकहरुको व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको आवश्यकता

By Bima Maharjan

सरसफाइकर्मीहरु भनेका फोहर व्यवस्थापनका अदृश्य योद्धाहरु हुन्। प्रत्येक बिहान, सुर्योदय हुनु अगाडि नै हजारौँ सरसफाइकर्मीहरु सडक, किनारा, टोलहरुमा कुचो लगाउने देखि लिएर फोहर संकलन, ढुवानी, फोहर वर्गिकरण, फोहर बिसर्जनसम्म देख्न सकिन्छ। उनिहरुले गर्ने ति दैनिक कार्यहरुले हाम्रो शहर सफा, प्रदुषणरहित बनाउनुका साथै पुनःचक्रण र पुनःप्रशोधन गर्न सम्म सहयोग पुर्याइरहेको हुन्छ। वास्तवमा, उनीहरु केवल फोहर व्यवस्थापन गरिरहेका छैनन्, उनीहरुले हाम्रो स्वास्थ्यको रक्षा गर्दै स्वच्छ र दिगो वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

जोखिमसँगको दैनिक सहयात्रा

हालसालै कामको शिलशिलामा म ककनी गाउँपालिकाको वडा नं. २, नुवाकोट जिल्लामा अवस्थित बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा गएको थिएँ। ल्याण्डफिलको त्यो वातावरण देखेर म एकछिन स्तब्ध भएँ । सयौँ सरसफाईकर्मीहरु फोहर ढुवानी गाडीहरु आउने बित्तिकै यसरी झुम्मिएका थिए मानौँ उक्त गाडीले केही अमुल्य चीज नै ल्याइरहेको छ। आफ्नो ज्यानको कुनै चिन्ता नै नगरी त्यो गाडी नजिक यसरी होमिरहेका थिए कि एक मनले मलाई लागिराखेको थियो त्यो गाडीले केही भइहाल्यो भने के हुने होला? गाडीहरु आफ्नै गतिमा हुइँकिरहेको थियो र त्यहाँ काम गर्ने कामदारहरु पनि सोही रफतारमा फोहर संकलन गरिरहेका थिए। वर्षौंदेखि व्यवसायिक स्वास्थ्य सुरक्षाको तालिम, प्रशिक्षण दिँदै आइरहेको र नेपाल सरकारको प्रावधान अनुरुप व्यवसायिक स्वास्थ्य सुरक्षाको सुनिश्चितता हुनु पर्छ भनि विभिन्न सभा, सम्मेलन, तालिमहरुमा भन्दै आएको म आज यो दृश्य देखेर फेरी सोच्न बाध्य भएँ। हरेक कार्यक्षेत्रमा व्यवसायिक स्वास्थ्य सुरक्षा के साँच्चै नै लागु भइरहेका छन् त? पक्कै पनि यो एउटा गहन प्रश्नको रुपमा खडा भएको छ।

२०२५ को एक सर्वेक्षण अनुसार काठमाडौँ उपत्यकामा मात्र १९,००० अनौपचारिक सरसफाईकर्मीहरु छन् जो कुचो लगाउने देखि लिएर संकलन, पृथकीकरण, ढुवानी, पुनःचक्रण, पुनःप्रशोधन जस्ता क्रियाकलापहरुमा प्रत्येक दिन सडक, किनार, ल्याण्डफिल्ड साइट तथा स्क्राप केन्द्रहरुमा कार्यरत छन् । सरसफाइकर्मीहरुले एकातिर फोहरहरुलाई व्यवस्थित ढंगले व्यवस्थापन गरी वातावरण स्वच्छ र सफा बनाइरहेका छन् भने अर्कोतिर विभिन्न पुनःचक्रीय फोहरहरु पुनःप्रशोधन गर्न सहयोग गरिरहेका छन्। जसले हाम्रो जिवनको सुरक्षा गरिरहेका छन् भने उनिहरुको जिवनको रक्षा कसले गर्छ?

नेपालको श्रम ऐन, २०७४ अन्तर्गत परिच्छेद १२ मा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी प्रावधान रहेको छ। जसमा श्रमिक र रोजगारदाता दुबैले वहन गर्नुपर्ने दायित्व र अधिकारहरु समेतिएका छन्। कार्यस्थलमा सुरक्षा र स्वास्थ्य सम्बन्धी उचित प्रबन्ध गरी काम गर्ने सुरक्षित वातावरण बनाउने जस्ता प्रावधान छन्। तर फोहरमैला व्वस्थापन क्षेत्रमा उक्त प्रावधान कार्यान्वयनमा अलि कम ध्यानाकर्षण भएको देखिन्छन्। अहिले पनि प्रायः फोहर संकलन तथा वर्गिकरण गर्ने स्थानहरुमा व्यक्तिगत सुरक्षाका कुनै उपकरणविना नै सरसफाइकर्मीहरुले काम गर्दै गरेका देखिन्छन्। काठमाडौं उपत्यकामा गरिएको एक अनुसन्धान अनुसार ६९.९% मा  श्वासप्रश्वास प्रणालिसम्बन्धि लक्षण एवं ६६.७% लाई शारिरिक घाउचोटपटक लागेको तथा २७.४ मा मानसिक स्वास्थ्य सम्बन्धि समस्याहरु देखेको पत्ता लागेको छ। तसर्थ, सरसफाइकर्मीहरुको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको सुनिश्चितता गर्नु तत्काल आवश्यक छ।

व्यावसायिक स्वास्थ्य तथा सुरक्षा भनेको पञ्जा र मास्क मात्र होइन।

फोहर व्यवस्थापन संस्थामा काम गर्ने शिलशिलामा मैले एक जना अनौपचारिक फोहरमैला संकलकसँग अन्तर्वार्ता लिएको थिए । सो अन्तर्वार्ताको एउटा महत्वपुर्ण प्रश्न थियो – व्यवसायजन्य स्वास्थ्य र सुरक्षा भन्नाले के बुझ्नुहुन्छ? उहाँको उत्तर थियो –‘त्यही पञ्जा र माक्स त होला नि।‘ कतिपय व्यवसायजन्य सुरक्षाका कार्यक्रममा पनि मैले त्यही व्यक्तिगत सुरक्षा उपकरणहरुलाई बढि जोड दिएको पाइएको छ । व्यवसायजन्य स्वास्थ्य केवल सो उपकरणहरुमा मात्र सिमित छैन। यो सँगै सुरक्षित फोहरमैला व्यवस्थापन प्रणालीहरु, नियमित स्वास्थ्य परिक्षण तथा पूर्ण खोपहरु, आधारभुत सुविधाहरु (जस्तै सुरक्षित खानेपानी, शौचालय, हात धुने स्थानहरु) मा पहुँच, तालिमहरु, सामाजिक सुरक्षा तथा आपतकालीन पुर्वतयारी, कार्यस्थलमा सुरक्षा तथा सम्मान पनि समावेश हुन्छन् । तसर्थ सुरक्षा व्यक्तिगत सरसफाइकर्मीहरूको जिम्मेवारीमा मात्र सीमित नरही सम्पूर्ण फोहर व्यवस्थापन प्रणालीमा एकीकृत हुनुपर्छ।

मिश्रित फोहरः सरसफाइहरुका लागि बढ्दो चुनौति

फोहर व्यवस्थापनको एउटा मुख्य समस्या भनेकै फोहर वर्गिकरण नगर्नु हो । नेपालमा स्रोतमै फोहर वर्गिकरण गर्नुपर्छ भन्ने स्पष्ट नीति भएतापनि हाल सो नीतिलाई लागु गर्न सकिएको छैन।

जब घरहरुले कुहिने फोहरहरुलाई नकुहिने फोहरहरु जस्तै टुटेफुटेका सिसाहरु, ब्याट्रिहरु, डायपरहरु, म्याद नाघेका औषधिहरु, विद्युतीय फोहरहरुमा मिसाएर दिन्छन्, यसले केवल फोहर व्यवस्थापन गर्न कठिन मात्र नभएर सरसफाइकर्मीहरुमा खतरा पनि बढाउँछ। यसले सामान्य शारीरिक घाउचोटपटक लाग्नुका साथै गम्भिर रोगहरु पनि लाग्न सक्ने सम्भावना त्यत्तिकै बढाउँछ । तसर्थ स्रोतमा फोहर वर्गिकरण गर्नाले केवल फोहर व्यवस्थापनमा सहज एवं वातावरणलाई स्वच्छ र सफा राख्नु मात्र नभइकन फोहरमा दिनहुँ काम गर्नु हुने हाम्रा सरसफाईकर्मीहरुको जिवनको सुरक्षा प्रदान गर्नु पनि हो।

हाल नेपालका केही पालिकाहरुले फोहर स्रोतमै व्यवस्थापन गर्ने अवधारणा पालना गर्दै आएका छन्। तर व्यवसायजन्य सुरक्षासम्बन्धी जनचेतना एकदमै सुस्त गतिमा बढिरहको छ। व्यवसायजन्य स्वास्थ्य र सुरक्षालाई सुदृढ बनाउन स्थानीय सरकार, रोजगारदाता, समुदाय, एवं नागरिकहरुको समन्वय तथा साझेदारी आवश्यक छ।

सम्मानको सुरुवात पहिचानबाट हुन्छ।

हालै फोहरमैला व्यवस्थापन सम्बन्धि एउटा कार्यक्रममा सहभागी भएको थिएँ। उक्त कार्यक्रममा कार्यक्रम सहजकर्ताले आफ्नो प्रस्तुति दिने क्रममा फोहरमैला व्यवस्थापनमा काम गर्ने श्रमिकहरुलाई ‘फोहरकर्मी’ शब्द प्रयोग गरिरहनुभएको थियो। उक्त शब्द सुन्ने बित्तिकै कार्यक्रम हल पुरै शान्त भयो। केहीबेरमै सहभागीहरुले यही विषय उठाउँदै भने, ‘ यो शब्द सम्मानजनक छैन । प्रस्तुतकर्ताले यसको उत्तरमा भन्नुभयो, ‘मैले अंग्रेजी शब्द ‘waste worker’ लाई नेपालीमा उल्था गरेर भनेको हो। नेपालीमा यसको अनुवाद ‘फोहरकर्मी’ नै हो।‘ यसैमा एक सहभागीले भन्नुभयोः ‘हामी फोहर उत्पादन गर्नेहरु फोहरकर्मी हौँ, किनभने फोहर त हामीले सिर्जना गर्छौँ तर त्यो फोहरलाई सुरक्षितरुपमा संकलन, पृथकीकरण, ढुवानी र व्यवस्थापन गर्नेहरु ‘सरसफाइकर्मी’ हुन्। त्यसैले सही शब्द ‘सरसफाइकर्मी’ हो।‘ यत्तिकैमा हलभरि ताली गुञ्जिन थाल्यो।

त्यो क्षणले एउटा महत्त्वपूर्ण सन्देश दियो—शब्दले सम्मान पनि दिन्छ र अपमान पनि गर्न सक्छ।फोहर व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने यी श्रमिकहरू वास्तवमा सरसफाइकर्मीहुन्। उनीहरू नै सम्पूर्ण फोहर व्यवस्थापन प्रणालीका आधारस्तम्भ हुन्। उनीहरूले हरेक दिन हाम्रो स्वास्थ्य, र हाम्रो वातावरणलाई सुरक्षित राख्न जोखिमपूर्ण परिस्थितिमा काम गरिरहेका हुन्छन्। वास्तवमा, यी सरसफाइकर्मीहरू स्वच्छ वातावरणका लागि आफ्नो ज्यान जोखिममा राख्ने एक योद्धा हुन्।

फोहर शब्द सुन्ने बित्तिकै नाक खुम्चाउने बानी हामी प्रायः नेपालीमा छ। फोहरमा काम गर्ने भन्ने बित्तिकै तल्लो स्तरको काम बुझ्ने मानिसको प्रकृति छ। जसले गर्दा हाम्रा सरसफाइकर्मीहरु समाजमा शिर निहुरेर हिँड्नु पर्ने बाध्यता छ । अरू पेशा जस्तो फोहर व्यवस्थापन काममा त्यस किसिमको सम्मान विरलै पाउँछ। गहिरिएर हेर्ने हो भने फोहरमा काम गर्नु भनेको आफ्नो ज्यान जोखिममा राखेर अरुलाई सुरक्षा प्रदान गर्नु पर्ने काम हो। एक हप्ता मात्र यि सरसफाइकर्मीहरुले आफ्नो काम गर्न छोडियो भने पनि हाम्रो सडकहरु पुरै फोहरले पुरिन्छन्, विभिन्न रोगहरु सँगसगैँ महामारी फैलन्छन् र दैनिकी कष्ठकर बन्दै जान्छन्। तसर्थ अन्य पेशामा जस्तै फोहर व्यवस्थापन कार्य गर्ने सरसफाइकर्मीहरुको पेशालाई पनि उच्च सम्मान दिँदै उनिहरुको सुरक्षाको सुनिश्चितता गर्नुपर्दछ।

हामी सबैको जिम्मेवारी

फोहरलाई हेर्ने दृष्टिकोण अब बदल्नुपर्दछ। जसले फोहर उत्सर्जन गर्छ फोहर व्यवस्थापन गर्ने जिम्मेवारी उसैले लिनुपर्दछ। फोहरलाई स्रोतमा वर्गिकरण मात्र गर्नाले पनि फोहर व्यवस्थापनमा धेरै नै सहयोग पुग्नुका साथै सरसफाइकर्मीहरुको जिवन पनि सुनिश्चित हुन्छ। त्यसैले स्रोतहरुबाटै फोहरहरु कुहिने र नकुहिनेमा अनिवार्य छुट्याउनु अति आवश्यक छ।

अब हामीले सरसफाइकर्मीहरूलाई हेर्ने दृष्टिकोण पनि बदल्नुपर्छ। उनीहरू “फोहरसँग काम गर्ने मानिस” होइनन्, बरु हाम्रो स्वास्थ्य, वातावरण र भविष्यको रक्षा गर्ने अग्रपङ्क्तिका सरसफाइकर्मीहरु हुन्। उनीहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नु स्वच्छ, स्वस्थ र सभ्य समाजमा गरिएको आवश्यक लगानी हो। उनीहरुको पेशालाई स-सम्मान गर्नुपर्दछ र उनीहरुलाई पनि यो सम्मानयोग्य काम हो भन्ने महशुस गराउनुपर्दछ। संघीय, प्रदेश र स्थानीय सरकारहरूले सुरक्षित कार्यस्थल, नियमित स्वास्थ्य परीक्षण, आवश्यक खोप, सामाजिक सुरक्षा, सीप तथा सुरक्षा तालिम, सुरक्षित उपकरण र आपतकालीन तयारी सुनिश्चित गर्ने स्पष्ट नीति र पर्याप्त बजेट व्यवस्था गर्न आवश्यक छ। त्यसैगरी, निजी क्षेत्र, सेवा प्रदायक संस्था र समुदायले पनि सुरक्षित र सम्मानजनक कार्यपरिवेश निर्माणमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ। तसर्थ, फोहरको सुरक्षित व्यवस्थापन गर्ने सरसफाइकर्मीहरूको स्वास्थ्य, सुरक्षा र सम्मान सुनिश्चित गर्नु उनीहरूप्रतिको दायित्व मात्र होइन, दिगो नेपालको आधार निर्माण गर्ने साझा जिम्मेवारी पनि हो।

Share it on: